नयाँ समीकरणलाई कमजोर बनाउने कुनै गतिबिधि नगर्न सत्तारुढ दललाई एमालेको आग्रह, १५ बुँदे प्रस्ताव पारित

काठमाडौ । १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आइतबार सम्पन्न भएको छ ।

समापन समारोहमा एमालेका उपमहासचिव विष्णु रिमालले १५ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गरेपछि बैठक हलबाट अनुमोदन भएको थियो । बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।

बैठकले फागुन २१ गते बनेको पाँच दलबीच भएको नयाँ सत्ता सहकार्यको स्वागत गर्दै सरकार सफल बनाउने घोषणा गरेको छ । पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरेको उपमहासचिव रिमालले जानकारी दिए ।

बैठकले दलहरुबीचको नयाँ समीकरणलाई कमजोर बनाउने कुनै काम नगर्न र मुलुकलाई थप अस्थीर र अन्यौल तर्फ धकेल्ने काम प्रति सजक रहन तथा राष्ट्रियता लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पर्ने काम हुन नदिन आह्वान गरेको छ ।

बैठकले आर्थिक मन्दी, भ्रष्टाचार, राज्य सञ्चालनमा देखिएको बेथितिका कारण समाजमा देखिएको नैराश्यतालाई चिर्न सरकारलाई आह्वान गरेको छ। बैठकले भ्रष्टाचारबिरुद्ध सम्झौताहीन ढंगले प्रस्तुत हुन, यसका बिरुद्ध जेहाद छेड्न र कानूनका नजरमा सवै बराबर छ भन्ने कुरा व्यवहारबाट देखाउन सरकारसंग माग गरेको छ ।

त्यस्तै बैठकले सहकारीहरुमा देखिएका समस्या र बेथिति अन्त्यका लागि निष्पक्ष छानबिन गरि दोषीलाई कानुनी कठघरामा ल्याइ बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन सरकारसँग माग गरेको उपमहासचिव रिमालले जानकारी दिए । शनिबार पहिलो दिन बैठकको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *