प्रिमियर कप:  हङकङसँग पराजित भएसँगै नेपाललाई चौथो स्थान

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । शनिबार दिउँसो तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको हो ।

जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । हङकङको लागि अंशु रथले सर्ववाधिक ६५ रन बनाए । उनले ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै बाबर हायातले २६, अजिज खानले १२ र नास्रुल्ला रानाले ११ रन बनाए ।

नेपालको लागि सोमपाल कामीले तीन र दीपेन्द्र सिंह एरीले दुई विकेट लिए ।

यसअघि अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । नेपालको लागि दीपेन्द्र सिंह एरीले सर्वाधिक ४४ रन बनाउँदै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याएका हुन् । उनले २९ बकमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै नेपालको लागि सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

हङकङको लागि औष शुक्लाले तीन विकेट लिंदा अतिक इकबाल, याशिम मुर्ताजा र इसान खानले समान एक/एक विकेट लिए ।

जितसँगै हङकङ तेस्रो हुँदै एसीसी इमार्जिंङ कपमा छनोट भएको छ । पराजित नेपाल चौथो हुँदै प्रतियोगिताको अन्त्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *