प्रश्न उठेका विषयमा अब हामी उत्तर खोज्ने काममा लाग्नुपर्छः सांसद पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्षमा मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ६ प्रदेश (क) ले नयाँ वर्षको उपलक्ष्यमा शनिबार सपनतीर्थमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम’मा पौडेलले विसं २०८१ मा नयाँ आशा र विधिको शासन स्थापनामा राजनीतिक दल लाग्नुपर्ने बताएका हुन् ।

काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले निराशाले समस्याको समाधान नहुने भएकाले नयाँ आशाका साथ देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । “विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, यस वर्ष उत्तर खोज्ने गरी हामी लाग्नुपर्छ”, उनले भने ।

नेता पौडेलले ८० को दशक निकै चुनौतीपूर्ण दशक रहेकाले यसको समाधानका लागि एकताबद्ध हुन जरुरी रहेको उल्लेख गरे । उनले जलवायु परिवर्तनका कारण वायुप्रदूषणसमेत अत्यधिक बढ्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले नयाँ वर्षसँगै कांग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे । उनले कांग्रेसले मात्र देशलाई स्थायित्व दिनसक्ने भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *