गजलकार प्रकट पगेनी ‘शिव’ को निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो । स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो करिब साढे ३ बजेतिर निधन भएको उनका भतिज प्रज्वल पगेनीले जानकारी दिए । ७० वर्षीय प्रकट पगेनी शिव कास्कीको रूपा गाउँपालिकाका हुन्। उनका पत्नी, एक छोरा र एक छोरी छन् । ‘तगारो छेउ आएर पनि आँगन टेकिनौ.’ उनको चर्चित गीत हो।

उनी सिद्धहस्त गजलकार थिए । उनका ‘यो मन कतै अल्झेको छ’, ‘जुनको चिठी जुनालाई’ लगायतका कृति प्रकाशित छन्। पगेनीका गजल, गीतसहित कविता, कथा, लेख, मुक्तक आदि पनि प्रकाशित छन्। २०३९ सालमा भएको नाटक महोत्सवमा उनले सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए । उनको अन्त्येष्टि बुधबार दिउँसो गरिने पारिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *