सुदूरपश्चिमको नेतृत्व नपाए गठबन्धनमा समस्या आउने खनालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माणका विषयमा छलफल भएको छ ।

सुदूरपश्चिममा आफ्नो पार्टीले पहिलो चरणमै सरकारको नेतृत्व गर्न पाउनुपर्ने र त्यसो हुन नसके गठबन्धनमा समस्या आउने खनालले प्रधानमन्त्रीलाई चेतावनी दिएको बताइएको छ । जवाफमा प्रधानमन्त्रीले मिलाउन प्रयास गर्ने आश्वासन दिएका थिए । त्यसक्रममा उनले नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सुदूरपश्चिममा सरकार गठनमा समस्या सिर्जना भएको बताएका थिए ।

प्रधानमन्त्रीले विवादको समाधानका लागि आफूले पनि प्रयास गर्ने र एकीकृत समाजवादीलाई मिलाउन पनि खनाललाई सुझाएका थिए । गठबन्धनमा सुरुमा सुदूरपश्चिममा पहिले एकीकृत समाजवादीले पाउने सहमति भएको बताइएको थियो । तर, उक्त सहमतिबाट प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पछि हटेको भन्दै गठबन्धन टुट्नेसम्मको चेतावनी नेकपा एकीकृत समाजवादीका नेताहरूले दिएका छन् ।

विवाद बढ्दै जाँदा सुदूरपश्चिममा नागरिक उन्मुक्तिकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

उनलाई एमाले, माओवादी केन्द्रले समेथन गरेको छ । अर्कोतिर नाउपाकै संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनलाई नेकपा एकीकृत समाजवादीसहित नेपाली कांग्रेसको समर्थन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *