काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको प्रबर्द्धनका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला सुरु भएको छ । नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा मेला सुरु भएको हो ।
मेलाको शुक्रबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् । लुम्बिनीको थप ब्राण्डिङ नेपालको पर्यटन प्रबर्द्धन र चीनलगायत विश्वका विभिन्न मुलुकसँग नेपालको मैत्रीपूर्ण आदानप्रदान बढाउन लुम्बिनीमा साँस्कृतिक र खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
मेलाअन्तर्गत आज बिहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा करिब दुई घण्टा अवधिको लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन गरिएको छ । ध्यानका लागि करिब सय जना भिक्षुभिक्षुणी र ४ सय जना सर्वसाधारण गरी पाँच सय जनाको सहभागिता रहेको थियो ।
त्यसैगरी शनिबार बिहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड गरिने छ । पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ ।
दौड र वाकथ प्रतियोगितामा ६ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ । लुम्बिनी स्क्वायर थियटरमा शनिबार साँझ लुम्बिनी पिस कन्सर्टको रुपमा मनोरञ्जनात्मक प्रस्तुती देखाइने छ ।
कन्सर्टमा चिनियाँ क्लासिक गीत, बुद्धधर्मसँग सम्बन्धित संगीत र नेपाली लोक गीतलगायतका सांस्कृतिक प्रस्तुति समावेश गरिने छन् । चिनियाँ गायिका उलान थुया र कलाकार लु निङ, नेपाली गायिका आनी छोइङ् डोल्मा र लुम्बिनीकास्थानीय कलाकारले प्रस्तुति दिनेछन् ।
करिब २ हजार दर्शकले सो सांस्कृतिक कार्यक्रम हेर्ने अनुमान गरिएको छ । शान्ति मेलाले ध्यान, धर्म, संस्कृति, खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रियरूपमा नेपालको पर्यटन प्रबर्द्धन गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Highlights of Lumbini International Meditation Day#LumbiniInternationalPeaceFestival pic.twitter.com/R9gkI5TP5u
— Ambassador Chen Song (@PRCAmbNepal) April 5, 2024
