राज्यलाई ‘करुणा’ जागेपछि…

काठमाडौं । सुन तस्करीका बारेमा छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि गृहमन्त्रीले प्रधानमन्त्री र प्रहरी प्रमुखसँग छलफल गरी ठूलौ एक्सन लिने तयारी गरे । त्यसको निशानामा परे पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा । काठमाडौंबाट रोल्पा जान लागेका बेला प्रहरीले महरालाई चैन ५ गते कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्यायो । त्यसपछि गृहमन्त्री रवि लामिछानेले वाहीवाही पाए । वाहीवाही पाउनुको कारण थियो सत्ता साझेदार दलको उपाध्यक्षलाई पक्राउ गर्नु । महराको स्वास्थ्य पहिलेदेखि नै राम्रो थिएन । त्यो सबैलाई थाहा थियो । अदालतबाट म्याद थप्दै उनलाई अस्पतालमा राखेर उपचार गर्न आदेश भएको थियो ।

अर्को पटक म्याद थप्न लैजानुअघि नै स्वास्थ्यको कारण देखाउँदै महरालाई हाजिरी जमानीमा छाडियो । महरालाई छाडिएपछि गृहमन्त्रीको आलोचना भयो । किनकी महरा पक्राउ देखाउनका लागि मात्र हो भन्ने विश्लेषण भयो । महरालाई सुरुमा मुद्दा नै चलाइएको थिएन भने दोस्रो पटक बयान लिएर छाडिएको थियो । सुन प्रकरणमा महरालाई तेस्रो पटकमा पक्राउ गरिएको थियो । यस पटक पनि सीआईबीले महरासँग सुन तस्कर भनिएको चिनियाँ नागरिकसँग टेलिफोन सम्पर्कबाहेक केही प्रमाण नपाइएको बताएको छ । आफ्नो आलोचना भएपछि गृहमन्त्रीले राज्य कठोर मात्र नभई करुणा पनि हुने भएकाले महरालाई छाडिएको भन्दै आफ्नो कदमको बचाउ गरे ।

उनले भने, ‘राज्य निर्मम हुन सक्छ, कठोर हुन्छ, तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले धेरै बिरामी अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छाडेको कुरालाई अतिरञ्जित गर्नुपर्दैन ।’ यदि राज्यसँग करुणा हुन्थ्यो भने महरालाई बोलाएर पनि त बयान लिनसक्थ्यो । तर राज्यसँग करुणा नभई प्रधानमन्त्री प्रचण्डको दबाबमा महरा छुटाएको कतिपयको विश्लेषण छ ।

अर्को घटना नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृ रक्षा बमलाई प्रहरीले पक्राउ गर्यो । आपराधिक लाभ लिएको अभियोगमा बमलाईृ प्रहरीले पक्राउ गरेको थियो । बम ओशो तपोवनमा ध्यानमा गएका बेला पक्राउ गरिएको थियो । बमविरुद्ध रश्मिला धामीले प्रहरीमा उजुरी दिएकी थिइन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको रायमा प्रहरीले बमलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्ने भन्दै रिहा गर्यो । यो घटनामा पनि पक्राउ गरेर हल्लाखल्ला गरियो अनि करुणा देखाएर छाडियो । यदि उनलाई मुद्दा चलाउनु नै थिएन भने पक्राउ गरेर हल्ला गर्नु बेकार थियो ।

त्यस्तै, अर्को विषय प्रहरी बढुवामा पनि यस्तै गरी आफ्ना मान्छेलाई करुणा देखाएर बढुवा सिफारिस गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीका पीएसओलाई बढुवा गर्न प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई दबाब दिएर बढुवा सिफारिस सूची प्रकाशित गरिएको छ । प्रहरीमा ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएकोमा पहिलो नम्बरमा रहेका डीएसपी प्रदीप अधिकारीलाई नै छुटाइएको छ । आईजीपी कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले निकालेको बढुवा सिफारिस सूचीमा एक नम्बर वरीयतामा रहेका डीएसपी क्षेत्रीको नाम छैन । ६ नम्बर वरीयतामा रहेका नारायण रंजितकार पनि बढुवाको सूचीमा परेनन् । डीएसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिँदा बजेट महाशखामा रहेका ढकेन्द्र खतिवडालाई पहिलो नम्बरमा ल्याइएको छ । जबकि उनी तेस्रो नम्बरमा थिए । मेरिट लिस्टमा अगाडि रहेका क्षेत्री र रंजितकारलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको छ । एसपी बढुवामा प्रधानमन्त्री प्रचण्डका पीएसओ विनोद घिमिरे र केपी ओलीका पीएसओ सन्तोष तामाङलाई अटाइएको छ । फागुन २७ गते प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने बताएका थिए । तर उनले त्यो अभिव्यक्ति पनि गोजीमा हालेर ओली र प्रचण्डका पिएसओलाई बढुवा सिफारिस गरेर अर्को करुणा देखाएका छन् । के राज्यको करुणा यस्तै कामका लागि हो त ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *