अमेरिकी विदेश मन्त्रालयले अरविन्द केजरीवालको गिरफ्तारीसम्बन्धी गरेको टिप्पणीलाई लिएर भारतले अमेरिकी दूतावासका वरिष्ठ अधिकारीसमक्ष गरेको विरोधको एक दिनपछि संयुक्त राष्ट्र सङ्घले सबैको राजनीतिक र नागरिक सम्पूर्ण अधिकार सुरक्षित हुने आशा राखेको बताएको छ ।
राष्ट्रसङ्घले सबै नागरिक स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न सक्षम रहेको कुरामा जोड दिएको छ । राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले भारतमा वा निर्वाचन हुने कुनै पनि देशमा, सबैका अधिकार सुरक्षित हुन्छन् र सबैले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनेमा आशावादी रहेको बताएका हुन् ।
भारतीय विदेश मन्त्रालयले अन्तःशुल्क सम्बन्धी मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले गरेको टिप्पणीलाई अनावश्यक भन्दै आपत्ति जनाएको हो ।
यसअघि बुधबार, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले दिल्लीका मुख्यमन्त्री केजरीवालको गिरफ्तारीलगायत मुद्दाका विषयमा प्रतिक्रिया दिँदै यी कार्यहरूलाई नजिकबाट पछ्याइरहेको बताएका थिए ।