काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड उल्फ्सले पहिलो जित निकालेको छ । शुक्रबार दिउँसो भएको पहिलो खेलमा नेपाल ‘ए’लाई २१ रनले हराउँदै आयरल्याण्ड उल्फ्सले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको हो ।
जितको लागि २ सय २३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २ सय १ रनमा समेटिएको हो । नेपालको लागि लोकेश बमले सतक बनाएपनि जितको लागि पर्याप्त रहेन । लोकेशले ५६ बमा ९ चौका र ८ छक्काको मद्दतमा १ सय ६ रन बनाए । यस्तै आरिफ शेखले २६ बलमा ५ छक्का र एक चौकाको मद्दतमा ४९ रन बनाउँदा कप्तान विनोद भण्डारीले १६ रन बनाए । बाँकी ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
आयरल्याण्ड उल्फ्सको लागि फिओन ह्याण्ड र म्याथेउ हुम्फेर्यसले समान तीन/तीन विकेट लिंदा म्याथेउ फोस्टरले दुई तथा थोमस मायस र गाभिन होएले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।
आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४९ रन बनाए। कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए । केड कार्माइकलले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाए ।
स्टेफन डोहेनीले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए। गारेथ डिलेनीले १४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३० रन बनाएका थिए। डिलेनीले अन्तिम ओभरमा मात्र ३ छक्का र १ चौका प्रहार गरेका थिए।
नेपालका लागि कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १/१ विकेट लिए।