रनको वर्षा भएको खेलमा हैदराबाद विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराइजर्स हैदराबाद विजयी भएको छ । बुधबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ३१ रनले हराउँदै हैदराबादले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

जितको लागि २ सय ७८ रनको कीर्तिमानी विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४६ रन मात्र बनाउन सक्यो । मुम्बईको लागि तिलक बर्माले सर्वाधिक ६४ रन बनाएपनि जितको लागि पर्याप्त रहेन । तिलकले ३४ बलमा ६ छक्का र २ चौका प्रहार गरे । यस्तै टिम डेभिडले ४२, इशान किशानले ३४, नमान धिरले ३०, रोहित शर्माले २६, कप्तान हार्दिक पान्ड्यले २४ र रोमारियो शेफर्डले १५ रनको योगदान गरे ।

हैदराबादको लागि प्याट कमिंस र जयदेव उनाड्कतले समान दुई/दुई तथा शहबाज अहमेदले एक विकेट लिए ।

यसअघि हैदराबादस्थित राजिव गान्धी अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २ सय ७७ रन बनाएको थियो । यो आईपीएल इतिहासमै बनेको सबैभन्दा उच्च स्कोर हो । यसअघि सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरले २ सय ६३ रन बनाएको थियो ।

हैदराबादको लागि हेन्रीच क्लासेनले सर्वाधिक ८० रन बनाए । विस्फोटक ब्याटिङ गरेका क्लासेनले ३४ बलमा ७ छक्का र ४ चौकाको मद्दतमा ८० रन बनाए । यस्तै अभिषेक शर्माले ६३, ट्राभिस हेडले ६२, एडिन मार्क्रमले ४२ र मायाँक अग्रवालले ११ रनको योगदान गरे ।

मुम्बईको लागि हार्दिक पान्ड्य, गेर्लाड कोट्जे र पियुष चावलाले समान एक/एक विकेट लिए ।

जितसँगै हैदराबाद दुई खेलबाट २ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट अंकविहिन मुम्बई नवौं स्थानमा रहेको छ । आज हुने खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *