सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सहरकारीको करोडौँ अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न माग गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले सहकारीको रकम अपचलनमा मुछिएका कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका हुन् । उनले गृहमन्त्री पदमा रहँदा निष्पक्ष छानबिन हुन नसक्ने बताए ।

थापाले उपप्रधानमन्त्री लामिछानेसमेत सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म उनलाई मन्त्री बनाउन नहुने तर्क गरे । ‘उहाँ दोषी हो/होइन हामीलाई थाहा छैन । भोलि छानबिनले प्रमाणित गर्ला तर जो आफैँ मुछिएको छ । उसले कसरी निष्पक्ष अनुसन्धान गर्छ भन्ने प्रश्न उठेको छ’, उनले भने, ‘सहकारीबाट ठगिएकाहरुको पैसा फिर्ता गराउन हामीले सहज वातावरण गर्नुपर्छ । त्यो वातावरण बनाउनेबारे हामीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चाहिएको छ ।’

उनले सदन चलोस् भन्ने आफूहरुको चाहना भएको तर आफूहरुले उठाएको प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको बताउँदै सुन तस्कारीका घटनामा शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च रहेछ भन्न यसअघिका प्रतिपक्षका आरोप सही नहोस् भन्ने पनि ध्यानाकर्षण गराए ।

यो विषयमा रवि लामिछानेले स्पष्टीकरण दिए पनि त्यो विश्वासयोग्य नरहेको बताए । रवि लामिछानेले जस्तै प्रक्रिया अनुसार धेरैले अर्बौं रकम लगेकाले उनीहरूले पनि उन्मुक्ति पाउने हो ? भन्दै उनले प्रश्न गरे ।

उनले नक्कली भुटानी शरणार्थी, टेरामक्स, बाँसबारी छालाजुत्ता तथा सुन तस्करीमा कसैले पनि उन्मुक्ति पाउन नहुने बताए । उनले सुन काण्डमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिए । उनले सुन काण्डमा मुछिएकाहरू कसैलाई पनि छाड्न नहुने बताए ।

उनले भने, ‘सुन काण्डमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। आयोगले किटान गरेका कोही व्यक्तिलाई छोड्नु हुँदैन। यसमा सरकारलाई पूर्ण साथ रहन्छ। यसले हामीलाई एउटा कुरा सिकाएको छ। तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले यो विषयमा कुरा नउठाएको भए आयोग नबन्ने रहेछ। आयोग नबनेको भए सुन काण्ड फासफुस हुनेरहेछ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *