राष्ट्रपति निर्वाचनमा विशाल मतले जितेको पुटिनको दाबी

बीबीसी । रुसमा राष्ट्रपतिको पाँचौँ कार्यकालका लागि भ्लादिमिर पुटिनले विशाल मतले जितेको दाबी गरेका छन् । निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको चुनावी नतिजामा उनले ८७ प्रतिशत मत पाएको देखिएपछि उनले रुसी लोकतन्त्र पश्चिमा विश्वका धेरैको भन्दा पारदर्शी रहेको दाबी गरे ।

राष्ट्रपतीय निर्वाचनमा उनीसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र थिए । चुनावभन्दा झन्डै एक महिनाअघि मृत्यु भएका पुटिनका आलोचक एलेक्सी नभाल्नीका समर्थकहरूले साङ्केतिक प्रदर्शनहरू गरे ।

उनीहरूको पुटिन विरोधी अभियानका कारण मस्को र सेन्ट पिटर्सबर्ग सहितका रुसी सहर एवं विदेशमा रुसी दूतावासबाहिर लामो लाइन देखा परेको देखिन्थ्यो तर त्यसले चुनावमा कुनै प्रभाव पार्दैनथ्यो ।

निगरानी समूह ओभीडी–इन्फोका अनुसार कम्तीमा ८० जना रुसीहरू पक्राउ परेका छन् । कैयौँ पश्चिमा देशहरूले रुसको चुनाव न स्वतन्त्र, न निष्पक्ष भएको भन्दै आलोचना गरेका छन् । वाशिङटनले ‘स्वाभाविक रूपमा चुनाव स्वतन्त्र र निष्पक्ष नरहेको’ जनाएको छ । बेलायतका विदेशमन्त्री डेभिड क्यामरनले “युक्रेनी भूभागमा गराइएका गैर कानुनी निर्वाचन“को निन्दा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *