जनसङ्ख्या वृद्धिदर यही कायम रहे दोब्बर हुन ७५ वर्ष लाग्ने 

 

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

पछिल्लो जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको, वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतका दरले वृद्धि भएको, नेपालको पहिलोपटक १९६८ सालमा लिएको  जनगणनासँग तुलना गर्दा अहिले करिब पाँच गुणाले जनसङ्ख्या वृद्धि भएको र जनसङ्ख्या वृद्धिदर यही कायम रहे नेपालको जनसङ्ख्या दोब्बरले वृद्धि हुन ७५ वर्ष लाग्ने तथ्याङ्क कार्यालयले जनाएको छ ।

पहाडी र हिमाली क्षेत्रका ३४ जिल्लाका वार्षिक जनसङ्ख्या ऋणात्मक र तराईका सबै जिल्लाका जनसङ्ख्या धनात्मक रहेको, सबैभन्दा बढी ऋणात्मक वृद्धिदर रामेछापमा माइनस एक दशमलव ६७ प्रतिशत र सबैभन्दा बढी काठमाडौँमा सात प्रतिशत वृद्धिदर रहेको तथा करिब दुई तिहाइ अर्थात् ६६ प्रतिशत जनसङ्ख्या नगरपालिका क्षेत्रमा रहेको आज सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी विसं २०६८ को तुलनामा समग्र साक्षरता दर नौ दशमलव छ प्रतिशतले वृद्धि भई ७६ दशमलव दुई प्रतिशत पुगेको, महिलाभन्दा पुरुष साक्षरता दर करिब १४ प्रतिशत बढी रहेको, पहाडमा सबैभन्दा बढी ८० दशमलव नौ र हिमाल तथा तराईमा लगभग बराबर अर्थात् ७३ प्रतिशत साक्षरता दर रहेको छ ।

त्यस्तै अन्य लिङ्गीको जनसङ्ख्या दुई हजार नौ सय २८ रहेको प्रतिवेदनमा उल्लेख छ । घर तथा परिवारको अवस्थासम्बन्धी प्रतिवेदनमा ६६ लाख ६० हजार आठ सय ४९ परिवारमध्ये ८६ प्रतिशत आफ्नै स्वामित्वमा भएको आवासीय एकाइमा, १२ दशमलव आठ प्रतिशत भाडाको घर र बाँकी सरकारी वा संस्थागत कार्यालयसहितका आवासीय एकाइमा बसोबास गर्ने उल्लेख छ ।

विसं २०७८ को जनगणनाअनुसार परिवारको आकार औसतमा चार दशमलव चारजना रहेको, सुदूरपश्चिम र मधेस प्रदेशमा चार दशमलव सात, नगरपालिकामा चार दशमलव तीन र गाउँपालिकामा चार दशमलव पाँचजना सदस्य परिवारमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *