ठाकुरमोहनमाथि हातपात गर्ने राप्रपाका तीन नेता कारबाहीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि हातपात गरेको घटनामा पार्टीले तीन जना नेतालाई कारबाही गरेको छ । कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला श्रेष्ठमाथि पार्टी कार्यालयमै हातपात भएको थियो ।

आक्रमणमा संलग्न तीन जना नेतालाई राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीबाट चार वर्षसम्मका लागि निलम्बन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

ठाकुरमोहनमाथि आक्रमण भएपछि त्यसको अनुसन्धान गरी सिफारिस गर्न अनुशासन समितिलाई दुई दिनको समय दिइएको थियो । समितिले तीन जनामाथि अधिकतम कारबाही गर्न सिफारिस गरेअनुसार आइतबार अध्यक्षले उनीहरूलाई निलम्बन गरेका हुन् ।

यसरी कारबाहीमा पर्नेहरूमा पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम रहेका छन् ।

कारबाहीमा परेका बलायर राप्रपा उपाध्यक्ष विक्रम पाण्डेका स्वकीय सचिव पनि हुन् । कार्यसम्पादन समितिको बैठकमा ठाकुरमोहनले उपाध्यक्ष पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनीमाथि पाण्डेकै योजनामा हातपात भएको आरोप छ । तर, राप्रपाले पाण्डेबारे भने केही बताएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *