एकीकृत समाजवादीद्वारा अपानि जारीः एमालेले समेत हाम्रो अस्तित्व स्वीकार गरेकाले नयाँ समीकरणमा सहभागी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन जारी गरेको छ। आइतबार अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानिमा सरकार गठनपछिको परिस्थितिबारे ब्रिफिङ गरिएको छ ।

अपानिमा उनले पार्टी पंक्तिलाई कुनैपनि अन्योलमा नपर्न र अचानक सत्ता परिवर्तनका कारणले नेतृत्वको ध्यान त्यसतर्फ गएपनि कार्यकर्ता पंक्तिलाई महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

अपानिमा भनिएको छ, ‘एकातिर प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत नपाएको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सरकार बन्ने र त्यसबाट पनि राजनीतिक स्थिरताको प्रत्याभूति नहुने, अर्कोतिर हाम्रो अस्तित्वलाई स्वीकार नगरेको नेकपा एमालेसमेतको नयाँ समीकरणले हामीलाई सरकारमा सहभागी हुन आग्रह गरेको र सरकार सञ्चालनका नीति तथा कार्यक्रमहरुमा हाम्रो पार्टीलाई समानरुपले सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेपछि पार्टी सचिवालयले त्यसप्रति सकारात्मक हुँदै वार्ता गर्ने निर्णय गर्यो ।’

अध्यक्ष नेपालले अचानक सरकारको समीकरणमा परिवर्तन आएपछि पार्टी नेतृत्वको ध्यान त्यता जानु स्वभाविक भएपनि आफूहरुको अभियान र महाधिवेशन प्रभावित पार्न नहुने बताएका छन् । उनले राष्ट्रिय राजनीतिमा एउटा सत्ता गठबन्धनको साटो अर्को गठबन्धन आउने बाहेक अरु कुनै घटनाक्रम नभएको समेत अध्यक्ष नेपालले प्रष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘सारतः हाम्रो पार्टी हिजो एउटा गठबन्धन सरकारमा थियो भने आज बदलिएको परिस्थितिमा अर्को गठबन्धनमा छ । हाम्रा मन्त्रीहरुबाट परिणामुखी काम होउन्, सरकारले राम्रो काम गरोस्, जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न सकियो भनेर हामीले प्रयास गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *