मुम्बईबाट काङ्ग्रेसको ‘जनन्याय पदयात्रा’ को औपचारिक समापन

विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसले राजनीतिक जागरणका लागि आयोजना गरेको ‘जनन्याय पदयात्रा’ आइतबार मुम्बईको मणि भवन सङ्ग्रहालयबाट सुरू भई क्रान्ति मैदानमा पुगी समापन भएको छ । यससँगै अभियानको यो चरणको सबै कार्यक्रम सकिएको छ ।

आइतबार आयोजित पदयात्रामा केन्द्रीय नेता राहुल गान्धी, पार्टीका महासचिव प्रियङ्का गान्धी वाड्रा र अभिनेत्री स्वरा भास्करले सहभागिता जनाएका थिए ।

पदयात्रालाई गान्धी स्मारक स्तम्भमा पुगेर पुष्पहार अर्पण गरी नेता राहुल गान्धीले यो चरणको जनन्याय यात्राको औपचारिक समापन गरेका हुन् ।

पदयात्रापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अभिनेत्री स्वरा भास्करले राहुल गान्धीले सञ्चालन गरेको भारत जोडो यात्राको दुई चरणको प्रशंसा गरेकी थिइन् ।

उक्त अवसरमा नागरिकता संशोधन ऐन (सीएए) का बिषयमा केन्द्र सरकारको आलोचना गर्दै चुनावी घेराबाट बाहिर आएको वास्तविकता लुकाउन सत्ताधारी गठबन्धनले सीएएको अधिसूचना र नियमहरू जारी गरेको उनले बताइन् ।
सत्ताधारी गठबन्धनले १० वर्षदेखि जनतालाई मूर्ख बनाउन यो रणनीति प्रयोग गर्दै आएको उनले दाबी गरिन् ।

काङ्ग्रेस महासचिव वाड्राले जनतालाई राष्ट्रको वास्तविक अवस्था जानकारी गराउन ‘भारत जोडो न्याय यात्रा’को आयोजना गरिएको बताए ।

उनले ६ हजार ७०० किलोमिटर यात्रा गर्दै अभियान शनिबार मुम्बईमा पुगेको बताए ।

देशको वास्तविकता बुझ्नुको महत्वलाई जोड दिँदै नेता वाड्राले भने, “राष्ट्रको बारेमा सत्य बुझ्नु महत्वपूर्ण रहेको र न्याययात्राले यो काम गरेको आफ्नो बुझाइ रहेको छ ।”

कार्यक्रममा राहुल गान्धीले जनचेतनामा जानाजानी आक्रमण भइरहेको र यसबारे जनतालाई सुसूचित गर्न ‘न्याय यात्रा’ को अभियान चलाइएको र यसको औपचारिक समापन भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *