चारैतिर निराशामात्रै देखिएकाले त्यसलाई चिर्नु अहिलेको चुनौतीः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक प्रशासनको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताएका छन् । आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पुनले आमजनतामा सार्वजनिक प्रशासन, राजनीति, अर्थतन्त्रका क्षेत्र, बैंक तथा वित्तीय संस्था चारैतिर निराशामात्रै देखिएकाले त्यसलाई चिर्नु अहिलेको चुनौती भएको बताए ।

उनले जनतामा छाएको निराशालाई आशामा परिवर्तन गर्न सबैको साझा प्रयास आवश्यक हुने बताए । उनले भने,‘राजनीतिक नेतृत्वमा समस्या छन्, शुद्धीकरणको आवश्यकता हामी आफैंले महसुस गर्दै आएका छौँ । यही कार्यशैली रहिरहने हो भने आजको आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन ।’

मन्त्री पुनले देशका केही क्षेत्रमा सुधार र निकै राम्रो प्रगति भए पनि नकारात्मक पक्ष मात्रै बाहिर आएको बताए । उनले राजनीतिक नेतृत्वदेखि सार्वजनिक प्रशासन र कर्मचारीतन्त्रसम्मको संयन्त्रमा देखिएका समस्यामाथि समाजले नै प्रश्न उठाइरहेकाले जनअपेक्षा अनुरसार काम गर्न कार्यशैलीमा परिवर्तनको खाँचो औंल्याए । उनले प्रश्न उठ्दैमा डराउन नहुने तर सकारात्मक रुपमा अगाडि बढ्न प्रश्नबाटै प्रेरित हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *