श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नुपर्छः सांसद पौडेल

 

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ र इनोभा अस्पतालबीच शनिबार आयोजित ‘स्वास्थ्य उपचार शुल्कसम्बन्धी दुईपक्षीय सम्झौता’ कार्यक्रममा उनले श्रमिकलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।

“सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीलगायत लक्षित वर्गका लागि अस्पताल निर्माण भए पनि श्रमिकका लागि अस्पताल नहुँदा श्रमिक समस्यामा परेका छन्, सरकारले श्रमिक अस्पताल निर्माणमा विशेष प्रयास गर्नुपर्छ,” उनले भने । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट श्रमिक अस्पताल निर्माण गर्न सकिने उनले बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सम्झौतालाई संयुक्त संयन्त्र बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । उनले श्रमिकको सहजताका लागि ट्रेड युनियन कांग्रेसले राष्ट्रिय कोष खडा गरी श्रमिकको स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको जानकारी दिए । ।

इनोभा अस्पतालमा उपचार गर्न जाने निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका सदस्य र सङ्घमा आबद्ध श्रमिक परिवारका सदस्यलाई ४० प्रतिशत सहुलियत दिइनेछ ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घले यसअघि ‘निर्माण श्रमिक कल्याणकारी काष’ स्थापना गरी उक्त कोषबाट निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई उपचारमा आर्थिक सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *