राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

 

जलेश्वर (महोत्तरी) ।  राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान महोत्तरी आइपुगको राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराएका हुन् । उनले  मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए ।

यसअघि राष्ट्रपति पौडेलले आज बिहान महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्वा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरेका थिए ।

बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *