रुसमा मतदान केन्द्र तोडफोड गर्ने आठ जना पक्राउ

राष्ट्रपति निर्वाचनमा मतदानको पहिलो दिन मतदान केन्द्रमा तोडफोड गरेको आरोपमा रुसी प्रहरीले कम्तीमा आठ जनालाई पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले लामो समयदेखिका नेता भ्लादिमिर पुटिनविरुद्ध विरोध प्रदर्शन भएको थियो वा थिएन भन्नेबारे बताएका छैनन् । राज्य मिडिया रिपोर्टहरूमा मतदान ‘सामान्यरूपमा जारी थियो’ भनिएको छ । मस्कोमा स्वतन्त्र एसओटिए समाचार आउटलेटले प्रकाशित गरेको भिडियोमा एक वृद्ध महिलालाई प्रहरीले पक्राउ गर्नुअघि एक मतदान केन्द्रलाई आगजनी गरिरहेको र मतदान केन्द्र धुवाँले भरिएको देखाइएको छ ।

राजधानीमा अर्को भिडियोमा एक महिलाले मतपेटिकामा रङ खन्याइरहेको देखाइएको छ । उनलाई हिरासतमा लिइएको र ‘निर्वाचन अधिकारको प्रयोगमा अवरोध पुर्याएको’ आरोप लगाइएको अनुसन्धानकर्ताहरूले बताएका छन् । अधिकारीहरूका अनुसार भोरोनेज, कराचे–चर्केसिया र रोस्तोभका रुसी क्षेत्रमा अन्य चार व्यक्तिलाई पनि मतपेटिकामा रङ खन्याएको आरोपमा पक्राउ गरिएको थियो ।

खान्ती–मानसीको दुर्गम साइबेरिया क्षेत्रमा मोलोटोभ ककटेलले मतपेटिका जलाउने प्रयास गरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको मतदान अधिकारीहरूले जनाएका छन् । त्यस क्षेत्रको निर्वाचन आयोगले भनेको छ, “कोगालिम सहरमा मतदान केन्द्र सङ्ख्या ४८४ मा मोलोटोभ ककटेलको प्रयोग गरी मतपेटिकामा आगजनी गर्ने असफल प्रयास गरिएको थियो ।”

एउटा मतदान केन्द्रमा पटका पड्काउने प्रयास गरेको आरोपमा प्रहरीले चेल्याबिन्स्क क्षेत्रमा एक व्यक्तिलाई पक्राउ गरेको क्षेत्रीय सरकारलाई उद्धृत गर्दै टिएएसएस समाचार एजेन्सीले जनाएको छ । स्थानीय मिडिया रिपोर्टअनुसार तोडफोडका यस्तै घटनाहरू सेन्ट पिटर्सबर्ग र क्रिमिया प्रायद्वीपमा पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *