नेपाली कांग्रेसद्वारा संसद बैठक अवरुद्ध, गृहमन्त्रीबारे सरकारसँग जवाफ माग

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबार प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् ।

गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको र सरकारले जवाफ नदिएको भन्दै कांग्रेस सांसद्हरुले संसद बैठक चल्न नदिएका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए । केसीले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीबारे सरकारको जवाफ नआएकाले बैठक चल्न नसक्ने बताएका थिए ।

सभामुखले उठेर विरोध गरेका सांसद्हरुलाई बस्न आग्रह गरेपनि सांसद्हरु नबसेकै बेला सभामुख घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेलाई बोल्न दिएपछि कांग्रेस सांसद्हरुले पुन विरोध गरेका थिए ।

त्यसपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकलाई सभामुखले बोल्न समय दिएका थिए । लेखकले सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने बताए । उनले जबर्जस्त गर्न खोजे वेल घेर्ने चेतावनी दिए । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *