सिद्धगुफामा पर्यटकीय पूर्वाधार बनाइँँदै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ । गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन लागेको हो ।

नवप्रवर्तन कार्यक्रमका लागि प्रदेश सरकारसँग सम्झौता भएपछि निर्माण कार्य अघि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । उनले भने, “चाँडै नै बोलपत्र आह्वान गर्ने तयारी छ ।” मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेश गरेपछि दुवै पक्षबीच सम्झौता भएको अध्यक्ष थापाले बताए ।

सिद्धगुफाको विकासका लागि नवप्रवर्तन साझेदारी कोषअन्तर्गत कूल लागत रु एक करोड चार लाख रहेको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले रु ७५ लाख अनुदान दिएको छ भने गाउँपालिकाले रु २८ लाख ९५ हजार लगानी गर्नेछ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेका एक सय नयाँ पर्यटकीयस्थलमध्ये सिद्धगुफा पनि एक हो । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६ सय मिटरमाथि विमलनगरको दक्षिणी भागमा पर्दछ ।

विसं २०४४ मा उक्त गुफा पत्ता लागेको हो । सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाका पैसा, माटोको घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, टेराकोटाको शुल्पालगायत वस्तु त्यहाँ भेटिएका थिए । झण्डै आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति हेर्न सकिन्छ । कतै भगवान्को मूर्ति त कतै चराचुरुङ्गी र जनावरका विभिन्न आकृति भेटिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *