रुसद्वारा जर्मनीको सैनिक बैठक ह्याक

बीबीसी । जर्मनीले आफ्ना अधिकारीहरूले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने र सम्भावित निशानाहरूबारे छलफल गरिरहेको एउटा सैन्य बैठक रुसको ह्याकिङमा परेको स्वीकार गरेको छ ।

उक्त भिडियो कन्फ्रेन्स बैठकको अडियो रुसको सरकारी च्यानल आरटीकी प्रमुखले सामाजिक सञ्जालमा पोष्ट गरिदिएकी छन् । अधिकारीहरूले गैरकानुनी रूपमा गाभिएको क्राइमिया र रुसलाई जोड्ने केर्च पूललाई कसरी ती क्षेप्यास्त्रहरूले निशाना बनाउन सक्छन् भनेर छलफल गरिरहेका थिए ।

रुसी नेताहरूले उक्त अडिओले ‘सधैँ घृणा गरिरहने शत्रु’ ले आक्रमणको योजना बुनिरहेको प्रमाणित गरेको उल्लेख गरेका छन् । जर्मनीका चान्सलर ओलाफ सोल्ट्सले चुहावट जस्तो देखिने उक्त घटना ‘ज्यादै गम्भीर भएकाले सावधानीपूर्वक, गहन र ज्यादै द्रुत ढङ्गले अनुसन्धान’ अघि बढाइएको बताएका छन् ।

डेर स्पीगल म्यागजिनका अनुसार उक्त भिडियो कन्फ्रेन्स कुनै गोप्य आन्तरिक सैन्य नेटवर्कमा नभई वेबएक्सको प्ल्याटफर्ममा आयोजना गरिएको थियो । उक्त ३८ मिनेट लामो अडियो आरटीकी प्रमुख मार्गरिटा सिमोनियानले शुक्रवार सार्वजनिक गरेकी थिइन्।

उनले त्यो क्राइमियामा जर्मनीले हमला गर्ने योजना बुनिरहेको प्रमाण भएको उल्लेख गरेकी थिइन् । जर्मनीको रक्षा मन्त्रालयकी एक जना प्रवक्ताले एएफपी समाचार संस्थालाई वायु सेनाको गोप्य कुराकानी टेप गरिएको बताइन् । उनले त्यसलाई सार्वजनिक गर्नुअघि अनधिकृत हेरफेर गरिएको छ कि छैन भन्ने कुरा आफूले ‘यकिन रूपमा भन्न नसक्ने’ जनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *