नेदरल्यान्ड्समाथि नेपालको सहज जित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत भएको खेलमा नेपालले दोस्रो जित निकालेको छ । शनिबार दिउँसो भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको हो ।

जितको लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय २१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै गुलसन झाले ३८, कुशल भुर्तेलले १२, आसिफ शेखले ८ रन जोड्दा दीपेन्द्र सिंह ४ र कुशल मल्ल २ रनमा नटआउट रहे ।

यसअघि टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १ सय २० रन जोडेको थियो । नेदरल्यान्ड्सको लागि म्याक्स ओवुडले सर्वाधिक ३२ रन बनाए । उनले २४ बलमा ४ चौका र एक छक्का प्रहार गरे । यस्तै टिम भान डेर गुग्टेनले २४, रोएलोफ भान डेर मेर्वेले २३ र स्कट एडवार्डले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालको लागि प्रतिस जिसीले ४ ओभरमा एक मेड राख्दै १३ रन दिएर तीन विकेट लिँदा करण केसी र कुशल मल्लले दुई-दुई विकेट लिए । यस्तै दीपेन्द्र सिंह एरीको नाममा एक विकेट रह्यो ।

जितसँगै नेपालले चार खेलबाट चार अंक जोडेको छ । एक खेल कम खेलेको नेदरल्यान्ड्सकोपनि चार अंक रहेको छ । भोलि नेदरल्यान्ड्स र नामिबियाबीच हुने खेलपछि फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *