नभाल्नीको अन्तिम संस्कारमा पुटिनविरुद्ध नाराबाजी

बीबीसी । दुई साताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नभाल्नीको राजधानी मस्को बाहिरी भेगमा अन्तिम संस्कार गरिएको छ । सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिबीच उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न हजारौँ मानिस सडकमा निस्केका थिए ।

नभाल्नीको शव चिहानमा गाड्ने बेला चिहानस्थलभित्र जान दिइएकामध्ये उनकी आमा पनि थिइन् । नभाल्नीका समर्थक र केही पश्चिमा नेताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हत्या गराएको आरोप लगाइरहेका छन्। उक्त आरोपको मस्कोले खण्डन गर्दै आएको छ ।

सरकारका कटु आलोचक रहेका नभाल्नीप्रति समर्थन जनाउन जोखिम मोल्दै हजारौँको भिड अन्तिम संस्कार समारोहमा उपस्थित भएको थियो । अन्तिम संस्कार गरिएको स्थान वरपर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको भएपनि समारोह सुरु भएका केही घण्टासम्म कोही पनि पक्राउ परेका विवरण आएका छैनन् ।

सम्भवतः त्यहाँ उपस्थित मानिसहरूको सङ्ख्या धेरै भएकाले पनि कुनै हस्तक्षेप नभएको हुनसक्छ । मानिसहरू युद्ध चाहिँदैन, पुटिन बिनाको रुस र रुस स्वतन्त्र हुनेछ जस्ता नाराहरू लगाएका थिए । यसअघि कतिपय मानिसले सपूत जन्माएको भन्दै नभाल्नीको आमाप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

नभाल्नीकी श्रीमती युलिया र दुई सन्तानहरू अहिले विदेशमा बस्छन् र उनीहरूले क्रेम्लिनबाट दमन हुन सक्ने सम्भावनालाई ध्यान दिएर अन्तिम संस्कार समारोहमा भाग लिइरहेका छैनन् ।

तर इन्स्टाग्राममा एउटा भावुक सन्देश लेख्दै २६ वर्षसम्म पूर्ण खुसी दिएकोमा युलियाले आफ्ना श्रीमान्लाई धन्यवाद दिइन् । उनले भनेककी छन्, ‘मलाई तिमीबिना कसरी बाँच्ने थाहा छैन, तर म कोसिस गर्नेछु ताकि त्यहाँ माथि बसेर तिमी खुसी र गौरवान्वित होऊ। एक दिन हाम्रो भेट हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *