प्रधानमन्त्रीद्वारा भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताए ।

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको उनले बताए ।

भरतपुर महानगरपालिका ११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा बनेको आँखा अस्पताल १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
भवनको भुईं तलामा बाल रोग बहिरंग विभाग, बालबालिकाहरुको लागि टिकट काउण्टर, ६ वटा ओपिडी कक्ष, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बाल मैत्री खेल कक्ष, स्टाफ कन्फ्रेन्स हल र स्तनपान कक्ष रहेको छ ।

पहिलो तलामा नर्सिङ कक्ष, ६० वटा वेडहरु, क्याविन कक्ष ६ वटा रहेको छन् । दोस्रो तलामा चारवटा अत्याधुनिक शल्यक्रिया कक्ष (३ मोडुलर, १ सेप्टिक ओ.टी) र ४ वटा पोष्ट अप्रेसन कक्ष रहेको छ । कर्मचारी र सेवाग्राहीलाई सहजताको लागि इलेक्ट्रिक लिफ्ट सुविधा राखिएको छ । भवनको सुरक्षाको लागि इलेक्ट्रिक अर्थिङको साथै अग्नि शमन यन्त्रको व्यवस्था गरिएको छ ।

उपकरणसहित भवनको सबै काम गरेर २० करोड १५ लाख २२ हजार ६२१ रुपैयाँ ४३ पैसा लागत लाग्ने अनुमान रहेको नेपाल नेत्रज्योती संघ चितवनका सचिव केशव अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *