शान्तिका लागि वार्ता प्रयास जारी रहँदा गाजामा सयौँको मृत्यु

इजरायली गुप्तचर प्रमुख युद्धविराम र प्यालेस्टिनी लडाकूहरूद्वारा बन्धक बनाइएका बन्धकहरूको फिर्तीको प्रयासलाई जारी राख्दै वार्ताको लागि पेरिसमा रहेका बेला गाजामा रातभर भएको आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सार्वजनिक गरेको युद्धपछिको गाजाको योजनालाई शुक्रबार प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले आलोचना र प्यालेस्टिनी प्रशासन र हमासले अस्वीकार गरेपछि पेरिस वार्ताको पहल भएको हो ।

अनिकालको बढ्दो जोखिमबारे संयुक्त राष्ट्रसङ्घको चेतावनी र प्यालेस्टिनीहरूका लागि यसको मुख्य सहायता निकाय यूएनडब्ल्यूआरएले शनिबार बिहानै गाजावासीहरू ‘चरम सङ्कटमा रहेको’ र विश्वले यसलाई हेरिरहेको बताएको छ । शुक्रबार उत्तरी क्षेत्रमा खानाका लागि लामबद्ध भएका गाजाका विक्षिप्त नागरिकहरू आफुहरूको पीडा व्यक्त गर्दै प्रदर्शन गरिरहेको देखिएको छ ।

जबालियानिवासी अहमद अतेफ साफीले भने, “हेर्नुस, हामी खाद्यन्नको लागि एकआपसमा सङ्घर्ष गरिरहनुपरेको छ । हामी कहाँ जाने?” “हामीसँग पानी छैन, पीठो छैन र भोकले गर्दा हामी धेरै थकित छौं । आगो र धुवाँका कारण हाम्रो ढाड र आँखा दुखेको छ,” जाबालियानिवासी ओम वाज्दी सलहाले भने । “भोक र खानाको अभावका कारण हामी आफ्नो खुट्टामा उभिन सक्दैनौं ।”

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकाय ओसिएचएले सामाजिक सञ्जाल एक्समा शुक्रबार राति जारी गरेको वक्तव्यमा भनिएको छ, “पर्याप्त खाद्यान्न र पानीको आपूर्तिका साथै स्वास्थ्य र पोषण सेवाको अभावमा गाजामा अनिकालको उच्च जोखिम बढ्ने अनुमान गरिएको छ ।

यसैबीच, मोसाद गुप्तचर निकायका प्रमुख डेभिड बार्नियाको नेतृत्वमा इजरायली प्रतिनिधिमण्डल बाँकी बन्धकहरूलाई फिर्ता गर्ने सम्झौताका लागि शनिबार पेरिसमा पुगेको छ । बार्नियासँगै शिन बेट सुरक्षा निकायका रोनेन बार पनि सहभागी हुने इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त राज्य अमेरिका, इजिप्ट र कतार सबै युद्धविराम र कैदी तथा बन्धक आदान–प्रदान सुनिश्चित गर्ने उद्देश्यले विगतका वार्ताहरूमा सहभागी हुँदै आएका छन् ।

नेतन्याहूको सरकारमाथि युद्धविरामका लागि वार्ता गर्न र चार महिनाभन्दा बढीको युद्धपछि बन्धकहरूको रिहाई सुनिश्चित गर्न दबाब बढ्दै गएको छ, बन्दीहरूको परिवारको प्रतिनिधित्व गर्ने एक समूहले शनिबार राति पेरिसमा भएको वार्ताकै दौरान ‘विशाल रयाली’ को योजना बनाएको छ ।

ह्वाइट हाउसका दूत ब्रेट म्याकगर्कले यसै साता इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टसँग तेल अभिभमा वार्ता गरेका थिए भने हमासका प्रमुख इस्माइल हनियेहसहित अन्य मध्यस्थकर्तासँग कायरोका कुराकानी गरेका थिए ।

हमास स्रोतका अनुसार नयाँ योजनामा छ हप्ताका लागि द्वन्द्व स्थगन गर्ने र हमासले बन्धक बनाएका ३५ देखि ४० जनाको बदलामा २०० देखि ३०० प्यालेस्टिनी कैदीलाई रिहा गर्ने प्रस्ताव गरिएको छ ।

बार्निया र सीआईएका उनका अमेरिकी समकक्षीले गत नोभेम्बरमा एक साता लामो युद्धविराम वार्तामा सहयोग गरेका थिए, जसमा इजरायली जेलमा रहेका २४० प्यालेस्टिनी कैदीको बदलामा ८० जना इजरायली बन्धकलाई रिहा गरिएको थियो ।

यसअघि, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले पत्रकारहरूसँगको भेटमा अहिलेसम्मको छलफल ‘राम्रो चलिरहेको’ बताएका थिए भने इजरायली युद्ध क्याबिनेट सदस्य बेनी गान्ट्जले ‘प्रगतिको सम्भावनालाई प्रकट गर्ने पहिलो सङ्केत’ बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *