भोजपुरी हास्य टेलिशृङ्खला ‘खेलाडी’ युट्युबमा

काठमाडौँ । विश्वभर फैलिएका भोजपुरी भाषी दर्शकलाई युट्युबका माध्यामद्वारा आफ्नै मातृभाषामा गीत, सङ्गीत र टेलिशृङ्खला प्रस्तुत गर्ने एउटा जमर्काे गरिएको छ ।

मुखिया इन्टरटेन्मेन्ट एण्ड मिडिया प्रालिले भोजपुरी भाषामा ‘खेलाडी’ नामक हास्य टेलिशृङ्खला निर्माण गरी यही फागुन १३ गतेदेखि युट्युबबाट विश्वभर पुर्याउने तयारी गरेको हो । हास्यव्यङ्ग्यका माध्यमबाट समाजमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्ने मुख्य उद्देश्यले भोजपुरी भाषाको पहिलो टेलिशृङ्खला निर्माण भएको लेखक तथा निर्देशक सैलेसमानसिंह बस्नेतले बताए ।

चाँदनी देवीले निर्माण गरेको टेलिशृङ्खलामा भोजपुरी भाषामा कलम चलाउँदै आएकी सञ्चारकर्मी प्रियङ्का पाण्डे, वीरेन्द्र मुखिया, स्वनीका बास्तोला, सरु बराल, अर्काना खातुनलगायत कलाकारको अभिनय रहनेछ ।

टेलिशृङ्खलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार पाण्डेले विश्वका जुनसुकै कुनामा बसेका भए पनि भोजपुरी भाषीले खुसी हुँदा, दुःखी हुँदा, रिस उठेर कसैलाई गाली गर्नुपरेमा आफ्नै मातृभाषा प्रयोग गर्ने गरेको घटना सुनाए । नेपालको सर्लाही, रौतहट, बारा र पर्सासहित विश्वका धेरै मुलुकमा बोलिँदै आएको भोजपुरीलाई शिष्ट भाषाका रुपमा लिने गरिएको उनले बताए ।

तराईका मुख्य थलोमा पुगेर छायाङ्कन गरिने शृङ्खलामा कथा र घटनाका आधारमा विषयवस्तु परिवर्तन गरिँदै लगिने निर्देशक बस्नेतले बताए । चाँदनीदेवीले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै भोजपुरी भाषा, कलासंस्कृति, रहनसहन, वेषभूषाको संरक्षण र प्रवद्र्धन गर्नु रहेको जानकारी दिइन् ।

टेलिशृङ्खलाले समाजमा परम्परादेखि रहँदै आएका कुरीति अन्त्य गर्दै परिवर्तनको बाटोमा अघि बढ्न प्रेरित गर्ने बताइएको छ । टेलिशृङ्खलामा समावेश कलाकार सबै भोजपुरी भाषी हुन् ।

प्रत्येक आइतवार युट्युबबाट प्रसारण हुने टेलिशृङ्खलामा समाजमा रहेका सासूबुहारीको झगडा, गरीब र धनीबीचको विभेद, फजुल खर्चलगायत विकृति अन्त्य गर्न केही हदसम्म सफल हुने लगानीकर्ता देवीले विश्वास व्यक्त गरिन् ।

टेलिशृङ्खलामा सासूको भूमिका केही कडा र निर्दयी जस्तो देखिए पनि परिवारमा गहिरो माया प्रेमभाव प्रकट गरेको निचोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *