काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन जारी गरेको छ । बिहीबार बसेको आयोगको बैठकले सम्पत्ति विवरण पेस नगर्ने पदाधिकारी र सदस्यको नाम त्यसरी सम्पत्ति विवरण पेस गर्नुपर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गरी सोको जानकारी आयोगमा पठाउन निर्देशन दिएको हो ।
यस्तै, दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी पनि ३० दिनभित्र आयोगलाई दिनुपर्ने निर्देशनमा उल्लेख छ ।
आयोगले भनेको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ बमोजिम केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष पेस गर्ने र दलले त्यसको अभिलेख राखी सम्पत्ति विवरण पेस गर्ने ।’
आयोगले दलहरूलाई आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी तोकिएको ढाँचामा लेखा राख्न निर्देशन दिएको छ । लेखा राख्ने प्रयोजनको लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउर्ने समेत आयोगले जनाएको छ ।