क्यानडाविरुद्धको सिरिजमा नेपालको क्लिनस्वीप

काठमाडौं । नेपालले क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा क्लीनस्वीप गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको तेस्रो तथा अन्तिम खेलमा क्यानडालाई नेपाल ९ विकेटले पराजित गर्दै सिरिज क्लीनस्वीप गरेको हो ।

क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा अनिल साह र भीम सार्कीको नटआउट शतकीय पारि महत्वपूर्ण रह्यो । अनिल र भीमले दोस्रो विकेटको लागि १ सय ८९ रनको कीर्तिमानी साझेदारी गरेका हुन् । लक्ष्य  पछ्याउने क्रममा कुशल भुर्तेल र अनिल साह क्रिजमा आएका थिए । ४.५ ओभरमा ४५ रन भएका बेला नेपालले पहिलो विकेट गुमाएको थियो ।

आक्रमक सुरुवात गरेका बेला कुशल भुर्तेल १४ बलमा १३ रन बनाएर आउट भएका थिए । त्यसपछि अनिल साह र भीम सार्की मिलेर नेपालको परि अघि मात्रै बढाएनन् जित दिलाएर पभेलियन फर्किए । अनिलले १२४ बलमा २ छक्का र १२ चौकाको मद्दतले ११२ रनको नटआउट शतकीय पारि खेले । अनिलको एक दिवसीय करियरको पहिलो शतक हो ।

यसैगरी भीम सार्कीले १२९ बलमा १०१ रनको नटआउट शतकीय पारि खेले । उनले १ छक्का र ११ चौका प्रहार गरेका थिए । नेपालले गुमाएको १ मात्र विकेट क्यानडाका डिलोन हेइलजरले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रन बनाएको थियो ।

क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ५० रन जोडेका हुन् । त्यस्तै क्यानडाका अर्का ओपनर निखिल दत्तले ४५ रन बनाए भने कप्तान साद बीन जाफरले ३१ रन बनाए । हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामी र कुशल मल्लले समान दुईरदुई विकेट लिए भने ललित राजवंशी र अकाश चन्दले समान एकरएक विकेट लिए ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *