गाजाबाट बन्धक फिर्ता गर्ने विषयमा नेतान्याहू र बाइडेनबीच छलफल

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच गाजामा बन्धक बनाइएका बन्धकहरूलाई मुक्त गर्न जारी प्रयास र प्यालेस्टाइनी इलाकामा थप सहायताका लागि जारी प्रयासबारे फोनवार्ता भएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका करिब १०० जना गाजामै रहेको इजरायली अधिकारीले बताए । उनीहरूबीच गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा स्थलआक्रमण गर्ने इजरायलको घोषित योजनाका साथै गाजामा थप सहायताको सहजीकरणका बारेमा पनि छलफल भएको थियो ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति बाइडेनले नेतन्याहूलाई इजरायलले रफाहमा आश्रय लिइरहेका करिब १० लाख मानिसको सुरक्षा सुनिश्चित गर्ने योजनाबिना सैन्य अभियान अघि बढाउन नहुने बताए ।

उनले ‘हमासलाई परास्त गर्ने साझा लक्ष्य’ भएको र गाजामा रहेका सर्वसाधारणका लागि मानवीय सहायता बढाउन तत्काल कदम चाल्न पनि आग्रह गरेका छन् ।
बाइडेनले गत हप्ता इजरायलको सैन्य अभियानको आलोचना गरेपछि दुई नेताबीच पहिलो पटक कुराकानी भएको हो ।

गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या सन् २०२३ अक्टोबर ७ देखि अहिलेसम्म २८ हजार १७६ पुगेको छ भने अन्य ६७,७८४ जना घाइते भएका गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *