काठमाडौं । आईसीसी यु-१९ विश्वकप अन्तर्गत आज हुने सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र बंगलादेशको सामना गर्दैछ । मान्गाउङ ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो १:४५बजे शुरु हुनेछ ।
नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । नेपाल सुपर सिक्सको खेल नखेल्दै सेमिफाइनल दौडबाट बाहिरिएको छ । नेपालको समूहमा रहेका भारत र पाकिस्तानले ३ खेलबाट ६ अंक जोडेपछि नेपाल दुई खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । नेपालले दुवै खेल जितेपनि जम्मा ४ अंक हुनेछ । समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् ।
यसअघि समूह ‘डी’मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । तर अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो ।
यसअघि नेपाल र बंगलादेश दुईपटक आमनेसामने हुँदा नेपालले एक र बंगलादेशले एक खेल जितेका थिए ।