निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक

काठमाडौँ । गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत सोमबार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरुले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

नेपाल विज्ञापन सङ्घको अध्यक्ष भइसकेका विज्ञापन व्यवसायी पौडेल गायन क्षेत्रमा पनि छन् । बीचमा गाउन छोडेका पौडेलको सोमबार सार्वजनिक भएको गीतमार्फत १५ वर्षपछि उनी पुनःगायनमै फर्किएका छन् ।

विशेष गरेर नेपालका विभिन्न क्षेत्र र वर्गका पर्वमा नाच्ने गरिएको शैलीमा तयार पारिएको यस गीतमा नेपालका चर्चित कलाकारले अभिनय गरेका छन् । गीतमा कलाकारहरु सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धीरेन शाक्य, रवीन्द्र खड्का, गजित विष्ट, गम्भीर विष्ट, सुनील सिलवाल, खुस्बु खड्का, गोपाल ढकाल ‘छन्दे’, रोहित कार्कीलगायत नयाँ र पुराना चर्चित कलाकारले अभिनय गरेका छन् ।

गायक पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले सङ्गीत भरेका छन् भने गीतको निर्देशन मनिष पौडेलले गरेका छन् । गीतमा गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायाङ्कन तथा माधव थापाको छायाङ्कन तथा व्यवस्थापन कला रहेको छ ।

गीतको भिडियो सार्वजनिक गर्न आयोजित कार्यक्रममा कलाकारहरु सरोज खनाल, किरण केसी, राजाराम पौडेल र गायक निर्मलराज पौडेलले नेपाली गीतसङ्गीत क्षेत्रका साथै आज सार्वजनिक भएको गीतका विषयमा चर्चा गरेका छन् ।

करिब ३५ वर्षअघि हलिउड र बलिउडका विभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरेर गीत गाई गायन यात्रा सुरु गरेका पौडेलका ‘फेसन यो हो फेसन’, ‘ह्याप्पी लाइफ’, ‘सलल बगेको गण्डकी’ लगायतका गीत चर्चित छन् । हालैमात्र पौडेलले नेपालमा विज्ञापन विषय र व्यवसायको इतिहास र वर्तमान अवस्था एवं विज्ञापन पेसामा आफ्नो अनुभवसमेत समेटेर ‘वेलकम आरोह अवरोह’ पुस्तक पनि प्रकाशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *