सरकारले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ताको पहल थालेको छः परराष्ट्रमन्त्री साउद

डडेल्धुरा। परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार नेपाल प्रेस युनियनले डडेलधुरामा गरेको पत्रकार सम्मेलनमा उनले विद्यार्थी भिसा र भिजिट भिसामा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको बताएका हुन् ।

उनले रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको र अरू धेरै जना जोखिममा परेको बताए । परराष्ट्रमन्त्री साउदले अप्ठ्यारोमा परेका आफ्ना नागरिकको उद्धार गर्न सरकार जुनसुकै बेला पनि तयार रहेको बताए ।

उनले भने, ‘आठ वटा शव अहिले त्यहाँको शवगृहमा राखिएको कुरा आएको छ । हामीले ती शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल गरिरहेका छौँ । त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्य त्यहाँ पुगेका र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’

उनले देश छोड्ने बेला जो कसैले पनि एकपटक सोच्नुपर्ने बताए । परराष्ट्रमन्त्री साउदले वर्तमान सरकारले परराष्ट्र सम्बन्धलाई सुधार गरेर सही ट्रयाकमा ल्याउन सफल भएको दाबी पनि गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले छिमेकी दुई देशहरूको भ्रमण गर्नुभयो । वास्तवमा यी भ्रमणहरू विगतका भन्दा ऐतिहासिक छन्, निर्विवाद र गुणात्मक छन् । यसले परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउने र ट्रयाकमा ल्याउने काम गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *