राष्ट्रिय ब्याडमिन्टन : एपिएफका प्रिन्स र पुलिसका विष्णु क्वाटरफाईनलमा

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपिएफ) का प्रिन्स दाहाल र नेपाल पुलिस क्लबका विष्णु कटुवाल ‘प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन’ प्रतियोगिताको पुरुष एकलतर्फको विधामा क्वाटरफाईनल प्रवेश गरेका छन् ।

दाहालले एपिएफकै सुजन थापालाई २१–११, २१–१० ले र कटुवालले स्पोर्टस् हबका सुनिल कार्कीलाई २१–७, २५–२३ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

काठमाडौँ महामनगरपालिका–६ स्थित बौद्ध लाखेपोखरीको कभर्डहलमा बिहीबार भएको पुरुष एकलतर्फ अन्तिम आठमा प्रवेश गर्नेक्रममा पुलिस क्लबका सुनिल जोशीले आर्मीका डेभिड थापा मगरलाई २१–११, १७–२१, २१–१४, आर्मीका कविर केसीले पुलिसका जीवन आचार्यलाई २१–९, १७–२१, २१–१६ ले पराजित गरे ।

एपिएफका देवराज रानाले पुलिसका अभिक श्रेष्ठलाई २१–११, २१–१२, एपिएफका अनिल मल्लले पुलिसका दीपक बोहरालाई २१–१६, २४–२२, आर्मीका प्रफुल महर्जनले एपिएफका भोजबहादुर गुरुङलाई २१–१८, २१–१५ तथा नखिपोटका विवेक चौधरीले एपिएफका विजित थापा मगरलाई २३–२१, २१–१३ ले पराजित गरे ।

स्पोर्टस् हबको आयोजनामा भएको उक्त प्रतियोगिताको महिला एकलतर्फ नेपाल पुलिसकी नीता लम्साल र आर्मीकी अमिता गिरीले पनि अन्तिम ८ मा स्थान बनाएका छन् । लम्सालले एपिएफकी रिना तामाङलाई २१–१०, २१–१२ र गिरीले एपिएफकी निकिता लामाबाट वाक ओभर प्राप्त गरेका हुन् ।

आर्मीकी शेस्ना श्रीपालीले बालकुमारी रिमिक्सकी श्रीया बज्राचार्यलाई २१–१०, २१–११, कस्तुरी कलेजकी सिमा राजबंशीले आर्मीकी बिष्ना बिष्टलाई २१–१४, २१–१२, एपिएफकी शोभा गौचनले देवी नगरकी प्रिया गौडलाई २१–७, २१–१५ तथा आर्मीकी रिहाना शेरचनले बालकुमारी रिमिक्सकी कृषा श्रेष्ठलाई २१–१३, २१–८ पराजित गर्दै विजयी भए । त्यस्तै आर्मीकै अनुमाया राईले पुलिस क्लबकी सुष्मा श्रेष्ठलाई २१–११, २१–१० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *