इक्वेडरको जेलबाट ३९ कैदी फरार

इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् ।

रियोबाम्बाका नगर प्रमुख जोन विनुएजाले स्थानीय पिचिन्चा रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार कारागारमा दङ्गापछि विष्फोट भएको र केही कैदीहरू भाग्न सफल भएका बताए ।

उनले भने,“कारागारको सुरक्षा घेरा तोडेर ३९ कैँदी भागेका छन् । मैले प्राप्त गरेको जानकारीअनुसार फरारमध्ये १२ जनालाई पुनः कब्जामा लिइएको छ ।”

प्रहरी विवरणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार राति १०ः४५ बजे जेलको सेन्ट्री बक्सबाट कैदीहरू भागेका थिए ।

फरार हुनेमा ‘लस लोबोस’ आपराधिक सङ्गठनसँग सम्बन्धित कुख्यात अपराधी फेब्रिसियो कोलोन पिको पनि छन् । पिकोविरूद्ध महान्यायाधिवक्ता डायना सालाजारविरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाइएको छ ।

अधिकारीहरूले उनलाई अर्को जेलमा स्थानान्तरण गर्ने योजना बनाइरहेका बेला कोलोन भाग्न सफल भएका हुन् ।

रियोबाम्बामा भएको घटनापछि इक्वेडरका विभिन्न जेलमा दङ्गा भड्किनुका साथै सोमबार राति र मङ्गलबार बिहानै देशका विभिन्न सहरमा विस्फोटक पदार्थ र प्रहरी अधिकारीहरूको अपहरण भएको थियो ।

सरकारले हिंसा बढेपछि आपराधिक गतिविधि रोक्नका लागि रात्रिकालीन कफ्र्यूसहित ६० दिनको आपतकालीन अवस्था घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *