न्यायोचित टिकट वितरण गर्न कमजोरी गरेको रहेछु भने स्वीकार्छुः कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार जिताउने अभियान लाग्न आग्रह गरेका छन् ।

सोमबार साँझ सामाजिक संजालमार्फत कोइरालाले उम्मेदवार चयन प्रक्रिया सहज नभएको भन्दै उम्मेदवारी दर्ता भएका उम्मेदवारलाई जिताउने अभिभारा आफूहरुको रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘साथीहरु, राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट आज १० जना साथीहरुले उम्मेदवारी दर्ता गराउनु भयो । पार्टी निणर्यबाट छानिएका सबै उम्मेदवार साथीहरुलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराउनु भएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि हामीसँग छ ।’

उनले सीमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो ईतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरुको सुची लामो थियो । यसर्थ सीमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन । तर पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदा हुँदै हामी कति सफल या असफल भयौँ, पार्टीको वर्तमान ढाँचा, सोच र निर्णय प्रकियालाई प्रभावित गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरुले मनन गर्नुभएको र गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

उनले न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निर्णयमा आफ्नो कमजोरी भए स्वीकार गर्ने बताए । उनले भने, ‘न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निर्णयमा मैले गल्ती–कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरुको सल्लाह र सुझावबाट भबिष्यमा अगाडि बढ्ने प्रण गर्दछु । मेरो अभियान पार्टीमा अवसरको न्यायोचित वितरण होस् भन्ने नै हो । यो अभियानमा साथीहरुबाट विगतमा झै निरन्तर साथ र सहयोग पाइरहने अपेक्षा समेत गर्दछु । जय नेपाल ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *