शेख हसिना फेरि प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का निश्चित भएको छ । आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसदको तीन सय सिटमध्ये २ सय ४ सिटमा जित निकालेको छ ।

यसपटक दुई सय ९९ सिटमा मतदान भएको थियो । योसँगै हसिनाले लगातार आठौं पटक चुनाव जितिन् । गोपालगञ्ज–३ सिटबाट उनले बंगलादेशको सर्वोच्च पार्टीका उम्मेदवार एम निजामुद्दीन लस्करलाई २ लाख ४९ हजारभन्दा बढी मतान्तरले पराजित गरिन् ।

हसिनाले २ लाख ४९ हजार ९ सय ६५ मत पाउँदा निजामुद्दीनले ४६९ मत मात्र प्राप्त गरे । हसिनाले पहिलो पटक सन् १९८६ मा चुनाव जितेकी थिइन् । बंगलादेश निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा जम्मा ४० प्रतिशत मत खसेको छ ।

यो आंकडा परिवर्तन हुन सक्छ । २०१८ को चुनावमा ८० प्रतिशत मतदान भएको थियो । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लगायत देशका विपक्षी दलहरूले चुनाव बहिष्कार गरेका थिए । बंगलादेशमा विपक्षी दलको अनुपस्थितिमा मतपत्रमा अवामी लिग, उसको सहयोगी दल र स्वतन्त्र उम्मेदवारको नाम मात्रै लेखिएको थियो ।

यस्तो अवस्थामा सत्तारुढ दल अवामी लिगको जित औपचारिकता मात्र बाँकी थियो । बंगलादेशको संसदमा कुल ३५० सिट छ । जसमध्ये ५० सिट महिलाका लागि आरक्षित छन् । बंगलादेशमा बंगलादेश अवामी लिग, बंगलादेश नेसनलिस्ट पार्टी र जटिया पार्टी गरी ३ प्रमुख राजनीतिक दल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *