इन्ट्रा म्याड्रिस्टा फुटसलको उपाधि हेटौंडालाई

पोखरा । पाचौं म्याड्रिस्टा फुटसलको उपाधि रियल म्याड्रिड फेन क्लब नेपालको हेटौंडा विङ्सले जितेको छ । शनिबार बेलुकी भएको एकपक्षीय फाइनल खेलमा रियल म्याड्रिड फेन क्लब नेपाल नुवाकोट विङ्सलाई ५-० गोलले हराउँदै हेटौंडाले उपाधि जितेको हो ।

पोखराको बि-फिट स्पोर्ट्समा भएको खेलमा हेटौंडालाई जित दिलाउन अनिश महर्जनले ह्याट्रिक पूरा गर्दा सुजन बोम्जनले दुई गोल गरे । दोस्रो सेमिफाइनल खेलमा चितवन विङ्सलाई १-० गोलले हराउँदै हेटौंडा फाइनलमा पुगेको थियो भने रोमान्चक बनेको पहिलो सेमिफाइनल खेलमा नुवाकोटले घरेलु टोली पोखरा ‘बी’लाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पाखा लगाउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलतर्फ लम्किएको पोखरालाई स्तब्ध बनाउन नुवाकोटले अन्तिम समयमा दुई गोल फर्काएको थियो । निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

यस्तै महिलातर्फ भएको खेलमा समाग्रमा काठमाडौं विङ्समाथि २-० गोलको जित निकाल्दै पोखराले उपाधि चुमेको हो । काठमाडौं र पोखराले तीन खेल खेलेका थिए । दुई टोलीबीच भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने बाँकी दुई खेलमा पोखरा समान एक/एक गोलले विजयी भएको थियो ।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले नगद पुरस्कारसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सहभागी टोलीले नगद र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका अविरल रिजाल इमार्जिंङ प्लेयर घोषित भए । विजेता टोली हेटौंडाका सुजल मोक्तान उत्कृष्ट गोलरक्षक चुनिए । यस्तै पुरुषतर्फ पोखराका मनिल गुरुङ र महिलातर्फ पोखराकै बिनु थापा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट म्यानेजर  नुवाकोटका कविन्द्र कोइराला चुनिदा बुटवलले फेयर प्ले अवार्ड पाउन सफल भयो ।

विजेता टोलीलाई क्लबका सचिव मदन लम्साल, विङ्सका उप-सभापति सुमित खनाल, पोखरा विङ्सका अध्यक्ष वसन्त गौतम लगायतले पुरस्कार वितवरण गरेका थिए ।

प्रतियोगितामा पुरुषतर्फ क्लबको ८ विङ्स र महिलातर्फ दुई विङ्सले सहभागिता जनाएका थिए । पुरुषतर्फ सहभागि टोलीमा आयोजक पोखराको दुई टोलीसँगै क्लबको अन्य विङ्स प्रदेश १, काठमाडौं, चितवन, बुटवल, हेटौंडा र नुवाकोट रहेका थिए भने महिलातर्फ काठमाडौं र पोखराको टोली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *