माओवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार, कुन प्रदेशबाट को उम्मेदवार ?(सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री  निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादीले कोसी प्रदेशमा चम्मादेवी कार्की, वाग्मतीमा श्रीकृष्ण अधिकारी र गण्डकी प्रदेशमा मनरूपा शर्माको नाम टुंगो लगाएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशर्मा रेणु चन्दलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

मुलुकका सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । निर्वाचनका लागि आयोगले यही पुस ४ गते नै मतदाता नामावली स्वीकृत गरेको थियो । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ । तीमध्ये प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ । निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *