भारतको सौर्य मिशन पुग्यो गन्तव्यमा

भारतले सूर्यको अवलोकनका लागि पठाएको अन्तरिक्ष मिशन शनिबार अपराह्न आफ्नो निर्धारित लक्षमा पुगेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् ।

अन्तरिक्ष अनुसन्धान निकाय इसरोले प्रक्षेपण गरेको चार महिनापछि आदित्य एल वान आफ्नो गन्तव्यमा पुगेको हो । आफ्नो मिशन सफल भएसँगै प्रधानमन्त्री मोदीले भारतले इतिहास रचेको बताएका छन् ।

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो यान सुरक्षित अवतरण गरेर इतिहास बनाएको केही दिनमै गत २ सेप्टेम्बरमा यो अन्तरिक्ष मिशन प्रक्षेपण गरिएको थियो । सूर्यको अध्ययनका लागि पठाइएको मिसनको नाम पनि सूर्यकै नाममा राखिएको छ ।

एल वान चाहिँ पृथ्वी र सूर्यबीचको यस्तो बिन्दु हो जहाँ दुवै ग्रहको गुरुत्व शक्ति समान हुन्छ र त्यहाँ रहेको बस्तुलाई दुवैले आफूतर्फ आकर्षण गर्ने क्षमता राख्दैनन् । उक्त स्थानमा छोडिने भारतीय भू–उपग्रहले पाँच वर्षसम्म त्यहाँ रहेर सूर्यको अध्ययनमा सघाउने अपेक्षा गरिएको छ ।

आफू अडिने स्थानमा पुगेपछि आदित्य एल वानले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्नेछ । यो बिन्दुबाट यसले सूर्यग्रहण वा अन्य ग्रहणको समयमा पनि निरन्तर सूर्यको अवलोकन गर्नेछ ।

आदित्य–एल वानले गर्ने सूर्यको गहन अवलोकन र अध्ययनबाट हाम्रो वैज्ञानिक बुझाई अझै परिष्कृत हुने र हाम्रो सौर्यमण्डलमा सूर्यको भूमिकाबारेको बुझाई पनि सुदृढ हुने अपेक्षा गरिएको छ । सूर्यको अध्ययन गर्ने यो पहिलो मिसन भने होइन ।

यसअघि अमेरिकी अन्तरिक्ष निकाय नासा र युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले पनि उस्तै उद्देश्यका लागि सौर्य मिसन पठाइसकेका छन् । भारतीय अन्तरिक्षयान पठाइएको पृथ्वी र सूर्यको गुरुत्व शक्ति सन्तुलित हुने स्थान १५ लाख किलोमिटर टाढा छ। उक्त दुरी पृथ्वी र चन्द्रमाबीचको दूरीभन्दा करिब चार गुणाले बढी हो ।

तर त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो । सूर्य पृथ्वीबाट करिब डेढ करोड किलोमिटर टाढा छ । भारतीय अन्तरिक्ष यानले जम्मा सात वटा भारीहरू ‘पे लोड’ बोक्नेछ त्यसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ। र त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टर जस्ता उपकरणको प्रयोग गरिनेछ ।

यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्ने बारे पनि अध्ययन गर्नेछ । इसरोले यो मिसनले कोरोनल हिटिङ, कोरोनल मास इजेक्शन, सोलार फ्लेअर्स जस्ता सौर्य गतिविधि र तिनका गुणहरूका साथै अन्तरिक्षको मौसमका प्रकृयाहरूबारे महत्वपूर्ण जरूरी जानकारीहरू प्रदान गर्ने आशा व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *