नेपाली सेनाको पदयात्रा सुरु

गोरखा । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । राज्य विस्तारको क्रममा प्रयोग भएको गोरखा–काठमाडौँ पदमार्गमा शनिबारदेखि नेपाली सेनाले यात्रा सुरु गरेको हो ।

सेनाले २०७६ देखि एकीकरण पदमार्गमा पदयात्रा गर्दैं आएको छ । गोरखा दरबारस्थित अनुमान भञ्ज्याङबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमानढोका पुगेर टुङ्गिने सेनाले जनाएको छ ।

कालो दौरा सलवार, टाउकोमा चातोडा, कम्मरमा खुकुरी, हातमा भरुवा बन्दुकसहित शाहकालीन पोशाकमा सजिएका नेपाली सेना सहितको टोलीले यात्रा प्रारम्भ गरेका हुन् ।

गोरखा दरबारबाट हनुमानढोका सम्मको २६ कोषको दुरीको यात्रा पौष २७ गते सम्म हुने छ । यात्राको पहिलो दिन शनिबार रिपुमर्दन गणले ताप्ले–अश्राङ–वोर्लाङ सम्मको पहिलो खण्डको यात्रा गर्ने जनाइएको छ ।

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पृतनापति सन्तोष बल्लभ पौडेल र जनप्रतिनिधिले यात्रामा सहभागी टोलीलाई टर्च र झण्डा हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *