जर्मन विदेशमन्त्री इजरायल भ्रमणमा जाने

जर्मन विदेशमन्त्री एनालेना बेरबकले गाजामा युद्ध शुरु भएयता चौथो पटक आइतबार इजरायल भ्रमण गर्दैछन् । भ्रमणका क्रममा बेरबकले इजरायलका नयाँ विदेशमन्त्री इजरायल काट्ज र राष्ट्रपति इसाक हर्जोगसँग वार्ता गर्ने विदेश मन्त्रालयका प्रवक्ता सेबास्टियन फिशरले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताए ।

उनले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र प्यालेस्टिनी विदेशमन्त्री रियाद अल मलिकीसँग पनि भेट गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
वार्ता गाजामा विकसित पछिल्लो दर्दनाक अवस्था, वेस्ट बैंकको अवस्था र इजरायल–लेबनान सीमामा अत्यन्त अस्थिर अवस्था लगायतका विषयमा केन्द्रित हुनेछ । साथै हमास बन्धकहरूलाई सुरक्षित गर्ने प्रयासमा पनि छलफल केन्द्रित हुने बताइएको छ ।

लेबनानको राजधानी बेरुतको उपनगरमा आतङ्कवादी समूहका एक जना नेताको हत्या भएपछि इजरायल र हमासबीचको द्वन्द्व फैलिन सक्ने त्रास बढेको अनुमान गरिएको छ । इजरायली सेनाले महिनौंदेखि हेजबुल्लाह लडाकुहरूसँग सिमानामा टिट–फर–ट्याट रणनीति अख्तियार गरेको छ।

जर्मनीले बुधबार आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो खतरायुक्त देश छोड्न आग्रह गरेको छ। यसै बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि इजरायलसहित मध्यपूर्वको कूटनीतिक भ्रमणमा बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । युद्ध शुरु भएयता उनको पनि यस क्षेत्रको चौथो भ्रमण हो।

इजरायलले अक्टोबर ७ मा आतङ्कवादी समूहको आक्रमणपछि हमास विरुद्ध आफ्नो प्रत्याक्रमण अभियान शुरु गरेको छ । युद्धको परिणामस्वरूप लगभग १ हजार १४० जनाको मृत्यु भएको छ । इजरायली तथ्याङ्कमा आधारित एएफपीले जनाए अनुसार ती मध्ये धेरैजसो सर्वसाधारण मानिसहरू युद्धको शिकार भएका छन् ।

विद्रोहीहरूले करिब २५० जनालाई बन्धक बनाइरहेका छन् । तीमध्ये १३२ जना कैदी बनाइएका छन् भने, २४ जना जति मारिएको हुन सक्ने विश्वास गरिएको छ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार लगातार भइरहेको इजरायली बमबारी र स्थलगत आक्रमणमा कम्तिमा २२ हजार ४३८ व्यक्तिको मृत्यु भएको छ । ती मध्ये अधिकांश महिला र बालबालिका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *