दूतावासले २० करोड रुपैयाँ लगानी गर्न पाउने निर्णय नेपालको इतिहासमा कलंकित घटनाः वामदेव गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालको स्वतन्त्रता सार्वभौमिकता, स्वाधिनता र नेपाली स्वाभिमानलाई भारतको पाउमा चढाएको आरोप लगाएका छन् ।

गौतमले शुक्रवार वक्तव्य जारी गरी नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्रीका एस जयशंकरबीच बिहीबार भएको सम्झौताप्रति लक्षित गरेर यस्तो आरोप लगाएका हुन् ।

उनले नेपाल सरकारको अनुमतिविना भारतीय दूतावासले नेपालका कुनै पनि परियोजनामा २० करोड रुपैयाँ लगानी सहयोग गर्ने निर्णय नेपालको इतिहासमा थप अर्को कलंकित घटनाको रुपमा देखिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हिजो १९ पुसका दिन नेपालका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीका बीच भएको नेपाल सरकारको अनुमतिविना भारतीय दूतावासले नेपालका कुनै पनि प्रोजेक्टमा प्रतिप्रोजेक्ट २० करोड लगानी सहयोग गर्ने निर्णय नेपालको इतिहासमा थप अर्को कलंकित घटनाको रुपमा देखिएको छ ।’

गौतमले अब भारतीय दूतावासले एकैपटक ७५३ पालिका र ७ प्रदेशलाई परियोजनाका नाममा पैसा बाँड्न सक्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘अब भारतीय दूतावासले एकैपटक ७५३ पालिका र ७ प्रदेशलाई बाँड्न सक्नेछ । त्यसैगरी सडक परियोजना, खानेपानी परियोजना र अन्य कुनै पनि परियोजनामा पनि बाँड्न सक्नेछ । यस्तो भएपछि नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनता तथा आजसम्म कायम रहेको नेपाली स्वाभिमानलाई भारतको पाउमा चढाएको भएन र ? यो निर्णयका विरुद्ध देश र विदेशमा रहेका सम्पूर्ण नेपाली जनता र नेपाली संघियताका तीनै तहका सभाले विरोध र भत्र्सना गर्नु पर्दछ ।’

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्न नपाउने बताएका छन् । शुक्रबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘२० करोडसम्मको परियोजना भारतीय दूतावास एक्लैले निर्णय गर्ने होइन। यसमा नेपालको पनि निर्णय र साझेदारी रहन्छ । त्यसको प्रक्रिया छ । नगरपालिकाभित्र कुन प्रक्रियाबाट गर्न सक्ने, गाउँपालिकाबाट भित्र या अन्य, त्यो प्रक्रियाबाट गएरमात्रै हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *