इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा, उद्धाटन खेलमा पोखरा र बुटवल भिड्ने

पोखरा । स्पेनिस क्लब रियल म्याड्रिडको आधिकारिक फेन क्लब रियल म्याड्रिड फेन क्लब नेपाल-पोखराको आयोजनमा हुने पाचौं इन्ट्रा म्याड्रिस्टा फूटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । क्लबको पोखरा विङ्सको आयोजनामा भोलि पुस २१ गते शनिबार पोखराको बी-फिट स्पोर्ट्समा हुने प्रतियोगिताको लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको हो ।

प्रतियोगितामा पुरुषतर्फ क्लबको ८ विङ्स र महिलातर्फ क्लबको दुई विङ्सले सहभागिता जनाउँदैछन् । पुरुषतर्फ सहभागि टोलीमा आयोजक पोखराको दुई टोलीसँगै क्लबको अन्य विङ्स प्रदेश १, काठमाडौं, चितवन, बुटवल, हेटौंडा र नुवाकोट रहेका छन् भने महिलातर्फ काठमाडौं र पोखराको टोली रहेका छन् ।  भोलि हुने उद्धाटन खेलमा समूह ‘ए’मा रहेका पोखरा ‘बी’ र बुटवल भिड्ने कार्यक्रम संयोजक केशव कान्त तिवारीले नेपाल समाजलाई जानकारी दिए । प्रतियोगितामा सहभागि जनाउन सबै टोली आजै(शुक्रबार) पोखरा आइसकेको संयोजक तिवारीले बताए ।

पुरुषतर्फ सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पोखरा ‘बी’, काठमाडौं, हेटौडा र बुटवल रहेका छन् भने समूह ‘बी’मा प्रदेश १, नुवाकोट, चितवन र पोखरा ‘ए’ रहेका छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा समुह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेतासँग खेल्नेछ भने समूह ‘बी’को विजेताले समूह ‘ए’को उपविजेतासँग खेल्नेछ । दुवै सेमिफाइनल खेलमा जित निकाल्ने टोली फाइनलमा उपाधिको लागि भिड्नेछन् ।

महिलातर्फ भने काठमाडौं र पोखराले तीन खेल खेल्ने तालिका रहेको छ । उक्त तीन खेलमा सबैभन्दा धेरै गोल गर्ने टोली विजयी हुने कार्यक्रम संयोजक तिवारीले बताएका छन् ।

प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कारसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *