गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि गलकोटलाई

 

ढोरपाटन । सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा ताराखोलालाई सोझो सेटमा हराउँदै गलकोटले उपाधि जितेको हो । बिहीबारको सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको ताराखोला अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३–० सेटले गलकोटलाई उपाधि बुझाउन पुग्यो । फाइनल खेलमा गलकोट नगरपालिकाले तीन सेट नै २५–२०, २५–२२ र २५–२२ अन्तरले आफ्नो पोल्टामा पार्यो ।

गलकोट नगरपालिकाले फाइनल प्रवेशका लागि बिहीबार ढोरपाटन नगरपालिकालाई पराजित गरेको थियो । उपाधि विजेता गलकोट नगरपालिकाले एक लाख ५१ हजार एक सय ११ पुरस्कार जितेको छ । गलकोटलाई उपाधि बुझाएर दोस्रो स्थानमा चित्त बुझाएको ताराखोला गाउँपालिकाले एक लाख एक हजार एक सय ११ पाएको छ ।

आज नै तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा ढोरपाटन नगरपालिकाले होटल माउन्टेन भ्यू काठेखोलालाई पराजित गरेको छ । आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गर्दै प्रतियोगितामा अगाडि बढेको ढोरपाटन नगरपालिका बिहीबार गलकोट नगरपालिकासँग पराजित हुँदै बाहिरिएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा ढोरपाटनले माउन्टेन भ्यूलाई ३–१ सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको ढोरपाटनले तेस्रो सेट गुमाउँदा चौथो सेट जित्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा तृतीय स्थान जोगाएको ढोरपाटनले  ५१ हजार एक सय ११ र सान्त्वना पुरुस्कार माउन्टेन भ्यूले  २५ हजार एक सय ११ प्राप्त गरेको भलिबल संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।

सातौँ बागलुङ महोत्सवकै अवसरमा आयोजना गरिएको खुला महिला भलिबलको उपाधि भने नवमालिकाले जितेको छ । निर्माण व्यवसायी सङ्घ बागलुङ दोस्रो भएको छ । यही पुस ११ गतेदेखि सुरु भएको सातौँ बागलुङ महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । महोत्सवको शनिबार समापन गरिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *