मोरङ कारागारका एक कैदीको छुट्ने दिन मृत्यु

विराटनगर । मोरङ कारागारमा एक कैदीको छुट्ने दिन मृत्यु भएको छ । विराटनगर– १० का ४८ वर्षीय चण्डेश्वर सहनीको मृत्यु भएको हो । सहनीले भुक्तान गर्नुपर्ने कैद अवधि आजै सकिँदै थियो । तर, कारागार बाहिर निस्कने दिन नै उनको मृत्यु भएको हो ।

जेल प्रशासनका अनुसार उनमा ‘पेट दुख्ने र श्वास प्रश्वाससम्बन्धी समस्या देखिएको थियो । दुई दिनअघि मात्र उनलाई विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार बिहान पौने ७ बजे उनको निधन भएको मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेले जानकारी दिए ।

सहनी २०७९ माघ १७ गतेदेखि कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा जिल्ला अदालत मोरङले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला गरेको थियो ।

परिवारले भने स्वास्थ्यमा समस्या आएपछि पनि जेल प्रशासनले जानकारी नगराउँदा राम्रो अस्पतालमा लगेर उपचार गर्न नपाएको गुनासो गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *