दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आयोजना भएको ढोर क्षेत्रका सामुदायिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आधारभूत माध्यमिक विद्यालयले जितेको छ ।
आइतबार दिउँसो शुक्लागण्डकी नगरपालिका–१० स्थित छब्दी माध्यामिक विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा आधारभुत माविले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।
यस्तै महेन्द्र माध्यमिक विद्यालय दोस्रो र राजपुर माध्यमिक विद्यालय तेस्रो हुन सफल भए । ढोरेली सेवा समाज, काठमाडौंको आयोजना र छब्दी माध्यमिक विद्यालयको सह–आयोजनामा भएको प्रतियोगितामा ७ विद्यालय सहभागि रहेका थिए । सहभागि विद्यालयमा आधारभुत मावि, महेन्द्र मावि, राजपुर मावि, जनप्रेमी मावि, तालेवेशी मावि, सह–आयोजक छब्दी मावि र गाउँफर्कोदय माविको सहभागिता रहेको थियो ।
यस्तै समाजले ढोर क्षेत्रबाट एसईई–२०७९ मा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाईपनि सम्मान गरेको थियो । छात्रतर्फ तालबेसी मा.वि.का समीर कठायत ३.८० नतिजा ल्याउँदै सर्वोत्कृष्ट घोषित हुँदा भने छात्रातर्फ गाउँ फर्कोदय मा.वि.की हिरादेवी पौडेल सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी थिइन् ।
सर्वोत्कृष्ट नतिजा ल्याउने र प्रतियोगिताको विजेता र सहभागी टोलीलाई नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण राज पण्डित, वडा अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, समाजका अध्यक्ष मधु सुदन सिग्देल, समाजको सल्लाहकार एंव ढोरेली दिदी बहिनी समूहकी अध्यक्ष शिव कुमारी कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।