फारवेष्ट पशुपति कपमा  नेपाल प्रहरी र पुनर्वास युनाइटेड विजयी

 

सुदूरपश्चिम ।  धनगढीमा जारी फारवेष्ट पशुपति कप, २०८० फुटबल प्रतियोगिताको आइतबारको खेलमा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशले ब्वाइज युनियन लम्कीलाई १–० गोलले पराजित गरेको छ ।

जितसँगै नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश, प्रतियोगिताको अन्तिम आठमा पुगेको छ । प्रहरीको जितमा एक मात्र गोल प्रदीप बोगटीले गरे । उनले खेल सुरु भएको आठौँ मिनेटमा गोल गरेका हुन् । खेलमा म्यान अफ द म्याच घोषित प्रदीपले  पाँच हजारको पुरस्कार पाए ।

प्रतियोगिताअन्तर्गत आजै भएको अर्को खेलमा पुनर्वास युनाइटेडले ग्रीन युथ क्लबलाई १–० गोलले पराजित गरेको छ । पुनर्वास पनि अन्तिम आठमा पुगेको छ । पुनर्वासको जितमा विदेशी खेलाडी काइटेमोन गाइडेनले पहिलो हाफको २६औँ मिनेटमा गोल गरे ।

उत्कृष्ट प्रदर्शन गरेका पुनर्वासका गोलरक्षक कुम्भ देउवा म्यान अफ द म्याच घोषित भई  पाँच हजार पुरस्कार पाए । प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल बिसिए–१५ फुटबल एकेडेमी र सशस्त्र प्रहरी बलको ७  नम्बर बाहिनीका बिच र दोस्रो खेल विदेशी टोली सिएफसी कोलकत्ता र सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका बीच हुने कार्यतालिका छ ।

पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले  पाँच लाख र उपविजेताले  दुई लाख पुस्कार पाउने आयोजक क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडी जनही  १५ हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *