एनसेल प्रकरणबारे ओलीः व्यापारी चिन्नु र बेथिति गर्नु एउटै होइन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा नभएको बताएका छन् ।

आइतबार ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एनसेल प्रकरणमा व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीलाई विषय मोड्न यस्तो कुरा नगर्न आग्रह गरे ।

उनले भने, ‘सरकारको यो बेथिति हो। अब त कस्तो भयो भने तपाईंको सरकारले यस्तो बेथिति गरेको छ नि भन्दा त्यो बेथिति गर्यो भन्ने व्यापारीलाई त केपी ओलीले पनि चिन्या छ नि भन्ने गरेको छ । केपी ओलीले नेपालका व्यापारी किन चिन्दैन चिन्छ नि त । व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा हो?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको राज्य व्यवस्था समितिमा भएको छलफलमा एनसेलको शेयर खरिदकर्ता सतिशलाल आचार्यहरुलाई राम्रोसँग चिन्ने बताएका थिए ।

उनले आफू श्रीमतीको उपचारका लागि सिंगापुर जाँदा उनकैमा बसेको भन्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओली पनि त्यहाँ गएको बताएका थिए ।

अध्यक्ष ओलीले सरकारले सुन तस्करी गर्न पशुपतिनाथमा पित्तल चढायो भनेर हल्ला फैलाउने काम गरेको आरोप लगाए । पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल नतिरेको नाममा उद्योगको लाइन काट्नु गलत भएको बताए ।

उनले भने, ‘यो सरकारले बुझ्न के पर्यो भने डेडिकेटेड, ट्रंकलाइन जोडेर विद्युत आपूर्ति गरेको छ भने आपूर्ति गरेको जति महसुल लिनुस्, लाइन जोडेको छ विजुली दिएको छैन भने केको पैसा उठाउने ?’ उनले डेडिकेटेड र ट्रंकलाइन विवादलाई संवादमार्फत समाधान गर्न सरकारलाई आग्रह गरे ।

उनले मध्यपहाडी क्षेत्रमा विपक्षी दलका समर्थकहरुमा सरकारी दमन चर्को रहेको पाइएको बताए । अध्यक्ष ओलीले आफ्नो यात्राको क्रममा त्यहाँका जनता सरकारी पक्षपात र दमनमा चर्को रुपमा परेको पाइएको बताए ।

उनले मध्यपहाडका जनता विकासप्रति आशावादी रहेको पनि उल्लेख गरे । उनले भने, ‘उहाँहरुले हामीसँग आफ्ना पीरमर्का राख्नुभयो । सरकारी दमनको कुरा राख्नुभयो । सरकारी दमन पनि चर्को गरिरहेछ । सरकारी पक्षपात, भेदभाव र दमन विपक्षी पार्टी भनेपछि काम गरेर बाँच्न पनि नपाउने स्थिति कतिपय ठाउँहरुमा देखियो । चर्को दमन र राज्यसक्ताको दुरुपयोग भएको देखियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *